नेपालको वर्तमान आन्दोलनले हाम्रो राष्ट्रिय पहिचान र सामूहिक चेतनामा गहिरो छाप छोडेको छ। यी छापहरू केवल घाउ मात्र होइनन्, हाम्रा उन्नतिको स्रोत र सिकाइका आधार हुन्। हाम्रो इतिहासले देखाएको छ कि संघर्ष र मेलमिलापको साझा बाटोले मात्र हामीले दिगो शान्ति र समृद्धिको मार्ग पहिल्याउन सक्छौं। अतः अहिले साझेदारी, सहकार्य र पुनर्निर्माणको महत्व अत्यधिक छ। हामीले विगतलाई दोष लगाएर समय नगुमाई त्यसबाट सिकेर भविष्यलाई उज्यालो बनाउने संकल्प गर्नुपर्छ। यस लेखले यही आशा, साझा प्रयास र दिगो उपचारको मार्ग पहिचान गर्ने प्रयास गर्नेछ।
१) आन्दोलनका विभिन्न रुपहरु
नेपालको वर्तमान आन्दोलन भ्रष्टाचारविरुद्धको शुद्ध आक्रोश हो। यो आन्दोलनले राजनीतिक नेतृत्वको असक्षमता र प्रशासनिक बेथिति उजागर गर्यो। विश्वव्यापी अनुभव र अध्ययनले भन्छ- जब भ्रष्टाचार संस्थागत भई दिगो बन्दछ तब युवापुस्ताले नै विद्रोहको नेतृत्व गर्छन्। इण्डोनेशिया, बंगलादेश, श्रिलंका, हङकङ, चिली, ट्युनिसिया आदि मुलुकमा पनि युवाहरूले नै व्यवस्थाप्रतिको निराशा हटाउन आन्दोलन गरेका थिए।
हालै इण्डोनेशियामा भ्रष्टाचार, आर्थिक असमानता र राजनीतिक पारदर्शिताको माग गर्दै युवाहरू सडकमा आएका छन्। सांसदहरूले पाउने अत्यधिक भत्ता र सुविधा जनताको न्यूनतम ज्यालाभन्दा धेरै बढी भएको भनी सुरु गरिएको आन्दोलनले सांसद सुविधाहरू रद्द गराउन सफल भयो। हाल आम स्तरबाट नयाँ नेतृत्व, ठूला सामाजिक र राजनीतिक सुधारका लागि आवाज उठेको छ।
गत सालमात्र बंगलादेशमा सार्वजनिक सेवामा आरक्षणको विरुद्ध विद्यार्थी र युवाको नेतृत्वमा सुरु भएको आन्दोलनले प्रधानमन्त्री शेख हसिना वाजेदको राजीनामा सँगै उनलाई देश छोड्न बाध्य पार्यो। त्यहाँ संसद विघटन हुँदै अन्तरिम सरकार गठन भयो। आन्दोलन अझै सामाजिक–राजनैतिक सुधारका लागि सक्रिय छ। बंगलादेशको अन्तरिम सरकार आगामी सन् २०२६ को फेब्रुअरी महिनामा आम निर्वाचन गर्ने तयारीमा छ।
श्रीलंकामा वढ्दो आर्थिक सङ्कट र भ्रष्टाचारविरुद्ध २०२२ मा देशव्यापी जनआन्दोलन भयो जसले तत्कालीन प्रधानमन्त्री महिन्दा राजपाक्षे र राष्ट्रपति गोटाबाया राजपाक्षेलाई सत्ता छोड्न बाध्य पार्यो। भ्रष्टाचार अन्त्य र सामाजिक न्यायको माग गर्यो। अहिले अनुरा कुमारा दिशानायकको नेतृत्वमा गठबन्धनको सरकार बनेको छ।
सन् २०१९ मा हङकङ सरकारले प्रत्यर्पण विधेयक ल्याएपछि विवादास्पद हुनगई लामो समयसम्म विरोध प्रदर्शन चले। प्रदर्शनकर्ताहरूले प्रहरीको रासायनिक स्प्रेबाट बच्न छाता प्रयोग गरेपछि ‘अम्ब्रेला मुभमेण्ट’ नामले परिचित भएको यस आन्दोलनमा युवा तथा आम नागरिकहरूले डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत् आपसी समन्वय गरेर सरकारको अधिनायकवादी कदमविरुद्ध आवाज उठाए। चीनको दवाबमा मत्थर भएको मानिएको यस आन्दोलन लोकतन्त्र र स्वतन्त्रताको प्रतिमामा अझै स्मृतिमा छ र यसको प्रभाव नागरिक चेतना, राजनीति र समाजमा देखिरहेका छन्।
२०१९ मै चिलीमा शिक्षा, स्वास्थ्य, आय असमानता र महँगीबिरुद्ध युवाहरूको ठूलो सडक आन्दोलन भयो। सुरुमा सार्वजनिक यातायात भाडा वृद्धिको विरोधमा विद्यार्थीहरूले थालेको आन्दोलनले पछि देशव्यापी गरी व्यापक रूप लियो। यो आन्दोलनले सामाजिक द्वन्द्व समाधानका लागि राष्ट्रपति सेबास्टियन पिनेराको राजीनामा र संविधान पुनर्लेखनको दिशा पायो। संविधान मस्यौदा गर्दै स्वीकृतिका लागि २ पटक जनमतसंग्रह भैसकेकोमा बहुमतले अस्वीकृत गरेको छ।
सन् २०१० मा ट्युनिसियामा मोहम्मद बुअजिजी नामक एक युवा व्यापारीले सरकारी दुराचार र अपमानप्रति विरोध जनाउँदै आत्मदाह गरेपछि देशभर व्यापक विरोध सुरु भयो। जसले बेन अलीको २४ वर्षे शासनको अन्त्य गर्यो र पुरै अरब वसन्त क्रान्तिको (अरब क्रान्ति) आरम्भ बन्यो। यसको प्रभावले मध्यपूर्व र उत्तर आफ्रिका धेरै देशहरूमा विद्रोह, दमन, र सत्ता परिवर्तन भयो। कतिपय देशमा युद्ध, गृहयुद्ध र अस्थिरता थपियो। आन्दोलनले एउटा युगको अन्त्य र अर्को युगको प्रारम्भ भई मध्यपूर्व सँगै उत्तर अफ्रिका र दक्षिण एशिया समेतको राजनीतिक भूगोल र सामाजिक संरचनामा दीर्घकालीन प्रभाव पारिरहेको राजनीति शास्त्रमा विश्लेषण गरिएको छ।
२) सङ्घे शक्ति: युगे युगे
यस संस्कृत युक्तिले युगहरू जति परिवर्तन भए पनि संगठन अर्थात् सामूहिकता नै सबै समयको सबैभन्दा ठूलो शक्ति हुन्छ भनेको छ। समयसापेक्षता अनुसार मानिसहरू एकजुट भएर मात्र सफलता हासिल गर्न सक्छन्। संगठनको शक्ति सबै व्यक्तिको समर्पण र प्रयासबाट उत्पन्न हुन्छ, जसले राष्ट्रलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउँछ। व्यक्तिगत प्रयासभन्दा साझा संकल्प र संयुक्त काम गर्ने भावना धेरै महत्त्वपूर्ण हुन्छ। संगठनको आन्तरिक अनुशासन, सामाजिक सद्भावना, समन्वय र निरन्तर प्रयास नै युग युगसम्म चलिरहने उन्नतिको आधार हो। त्यस्तै, संस्कृतमा ‘सङ्घे शक्तिः कलौ युगे’ भनिएको छ। कलियुग (आजको युग) मा शक्ति व्यक्तिगत प्रयासमा नभई संगठन, एकता र सामूहिक प्रयासमा हुन्छ। धार्मिक र सांस्कृतिक दृष्टिले विभिन्न युगहरूलाई मानिसहरूको शक्ति प्रकारसँग जोडिएकोमा सत्ययुगमा ज्ञानशक्ति, त्रेतायुगमा मन्त्रशक्ति, द्वापरयुगमा युद्धशक्ति, र कलियुगमा संघ अर्थात् संगठनको शक्ति प्रमुख हुन्छ भनिएको छ। यो युगमा मिलेर काम गर्दामात्र शक्तिशाली भइन्छ।
ऋग्वेदमा संगच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम्।
देवा भागं यथा पूर्वे संजानाना उपासते॥ भनिएको छ। यसको अर्थ हुन्छः मिलेर हिँड, मिलेर बोल, मिलेर सोच। जसरी प्राचीन ऋषि–मुनिहरू मिलेर देवत्वलाई प्राप्त गरेका थिए, त्यस्तै सहकार्यले मात्र प्रगति सम्भव हुन्छ।)
समुदाय र नागरिक समाजको भूमिका
अहिलेको घाउलाई निको पार्ने सबैभन्दा ठूलो मलम हो सामाजिक भावना। सामाजिक भावना र श्रमको सम्मानलाई अग्रस्थानमा राख्दा मात्र धेरै जसो क्षेत्रमा स्वस्फूर्त काम भई “मेरो मात्र होइन, हाम्रो” भन्ने सोच विकसित हुन्छ। सांस्कृतिक घुलनशीलता, सामूहिक भावना र श्रमप्रतिको सम्मानले समाजलाई नयाँ बाटोतर्फ डोर्याउनेछ। समाजलाई एकै दिशामा हिड्ने बनाउने समुदाय वा समष्टिले हो, समूह र नेतृत्वले हो, नागरिक समाजले हो। सामुदायिक शासन प्रणाली र साझा स्रोतहरूको टिकाउ व्यवस्थापनसम्बन्धी महत्वपूर्ण अनुसन्धान गरेकी एलिनोर ओष्ट्रोमको अध्ययनले देखाउँछ- समुदायलाई सशक्त पार्दा साझा सम्पदाको संरक्षण हुन्छ, टिकाउ हुन्छ। मितव्ययिता, श्रमको सम्मान र सांस्कृतिक घुलनशीलता अभ्यास गर्दा सामाजिक पुँजी बलियो हुन्छ। नेपालमा सामुदायिक वन, धेरै सहकारी संस्था यसको उदाहरण हुन्।
मिडिया क्षेत्र जिम्मेवार नागरिक समाज हो। सूचना सञ्चारमा प्राथमिक भूमिका गर्ने यस क्षेत्रले कुन विषयलाई सबैभन्दा बढी महत्त्व दिने र प्रस्तुत गर्ने निर्णयबाट जनताले त्यो विषयलाई कति महत्वपूर्ण ठान्ने भन्ने निर्धारण गर्ने हुनाले तथ्यमा आधारित विमर्श, तथ्यमा आधारित सूचना प्रवाह, समाजलाई प्रेरणा दिने साझा कथाहरू प्रस्तुत गर्नुपर्छ। राज्यको उन्नयनका लागि विदेशी असल अभ्यास जस्तै नर्डिक मुलुकको सूचना सुशासन आत्मसात् गर्ने जस्ता विषयमा पैरवी गर्दा सकारात्मक बाह्य प्रभाव (पोजेटिभ एक्स्टर्नालिटिज) सृजना हुन्छ। दक्षिण अफ्रिका, भारत, फिलिपिन्स लगायतका मुलुकहरूमा नागरिक समाज र स्थानीय समुदायहरूले रंगभेद, उपनिवेशवाद, अत्याचार र भ्रष्टाचार विरुद्ध लडेर लोकतन्त्र र सामाजिक न्याय स्थापना गरेका छन्।
प्रतिशोध होइन, पुनःव्यवस्था (Re-arrange, not Revenge)
नेपालमा आज चाहिएको कुरा हो विगतका गल्तीलाई नियति मान्दै अघि बढ्ने साहस। हो, व्यक्तिगत क्षतिको घाउलाई विर्सन या सहजै निको बनाउन कठिन छ तर नियति मानेर अगाडि बढ्नुको विकल्प छैन। नेपाल आज गहिरो घाउको बीचमा उभिएको प्ररिप्रेक्ष्यमा आन्दोलनले दिएको चेतावनी, शहादत, भौतिक र मानसिक क्षति- यी सबै केवल वर्तमानको पीडा मात्र होइनन्, भविष्यमा के नदोहोरिनु पर्छ भन्ने शक्तिशाली सन्देश पनि हुन्।
घाउ निको पार्ने पहिलो कदम पीडाको स्वीकारोक्ति हो। दर्शनले भन्छ- प्रतिशोध विनाशको बाटो हो। महात्मा गान्धीले चेतावनी दिएका थिए : “An eye for an eye makes the whole world blind.”
दक्षिण अफ्रिकामा रङ्गभेदविरुद्धको आन्दोलनमा अगुवा व्यक्ति थिए र नस्लीय विभाजन अन्त्यमा महत्वपूर्ण भूमिका खेलेका नोबेल शान्ति पुरस्कार विजेता देशमण्ड टुटु ले भनेका थिए : “Without forgiveness, there is no future.”
क्षतिलाई सामूहिक भविष्यको मलहममा रूपान्तरण नगर्दा प्रतिशोधको अग्निले पुनः सखापको बाटो समात्छ।
त्यस्तै, नयाँ पुस्ताले पुरानामाथि खुच्चिङ मात्र गर्न थाल्यो भने फेरि अर्को दुश्चचक्र सुरु हुन्छ। नयाँ पुस्ताले revenge होइन re-arrange रोज्नुपर्छ। अनि आम रुपमा संविधान वा कानुनका धारा–धारामा सीमा देखाएर, यस्तो गल्ती भयो भनेर भन्दा पनि अब, नियत शुद्ध पारेर अगाडि बढ्ने अभ्यास गर्नुपर्छ। भाटभटेनीको चोरी प्रकरणमा सामान फिर्ता भएको घटना एउटा प्रतीक हो- यदि नियत शुद्ध छ भने समाज पुनःव्यवस्थित हुन सक्छ।
घाउलाई मात्र देखाएर रोइरहनु पर्याप्त छैन। घाउसँगै मलम पनि चाहिन्छ। यस्तो मलम जसले फेरि घाउ नै आउन नदिने प्रणालीगत क्षमता निर्माण गर्छ। गल्तीमा क्षमा दिएर सुधारको साझा बाटो अपनाउनु नै मलम हो। दक्षिण अफ्रिकाले Truth and Reconciliation Commission मार्फत विगतका घाउलाई क्षमा र पुनःव्यवस्थाबाट सम्बोधन गरेझैँ न्याय दिने विधि स्थापित गर्न सकिन्छ नै।
विदुर नीतिमा‘क्षमा वीरस्य भूषणं’ भनिएको छ। जसको अर्थ हुन्छक्षमाशीलता वीरताको आभूषण हो।
सो नीतिमै “सोऽस्य दोषो न मन्तव्यः क्षमा हि परमं बलम्। क्षमा गुणों ह्यशक्तानां शक्तानां भूषणं क्षमा॥” भनिएको छ। यसले दर्शाउँछ कि क्षमाले नै वीरताको परिचय दिन्छ र यो महान शक्ति हो जसले व्यक्तिगत र सामाजिक जीवनमा शान्ति र सम्मान ल्याउँछ।
राजनीतिक दलको Re- Engineering
राजनीतिक दलभित्र पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक प्रक्रिया सुदृढ पार्न अब केन्द्रित हुनुपर्छ। दलहरूलाई छिटो बदलिँदो सामाजिक र राजनीतिक परिवेश अनुसार अनुकूल बनाउनुपर्छ। नेतृत्व चयनदेखि नीति निर्माणसम्म सबै कार्य पारदर्शी हुने व्यवस्था बनाउनुपर्छ। दलले फरक फरक समुदायको सहभागिता सुनिश्चित गरी साझा राष्ट्रिय एजेण्डामा केन्द्रित रहनुपर्छ। भ्रष्टाचार, प्रतिशोध लगायतका नकारात्मक प्रवृत्तिहरूलाई अन्त्य गर्न कडा नियम र कार्यान्वयन गर्नुपर्छ। ऐतिहासिक विरासत समेत रहका दलले जिम्मेवार, समावेशी र राष्ट्रिय हित अनुकूल मात्र आफ्ना क्रियाकलाप केन्द्रित गर्दा लोकतन्त्र वा जनतन्त्र सबल बन्दछ।
अब राजनीतिक दलहरु गुटबन्दीको राजनीति होइन, साझा राष्ट्रिय एजेण्डामा उभिनुपर्छ। दोस्रो विश्वयुद्धपछिजर्मनीको ‘Post-WWII re-engineering of parties’ ले राष्ट्र पुनःनिर्माण सम्भव भएको देखाउँछ। नेपालका दलहरूले पनि गुटबन्दी, भ्रष्टाचार र प्रतिशोधको संस्कृतिबाट बाहिर निस्कन जरुरी छ।
प्रशासन : सुशासनको मेरुदण्ड
विश्वबैंकको Worldwide Governance Indicators ले पारदर्शी प्रशासनबिना समृद्धि स्थायी हुँदैन भनी चित्रण गर्दछ । वर्तमान अवस्थामा जति सूचना छन तिनलाई एकत्रित गरेर प्रयोगयोग्य बनाउनुपर्छ। काम कारवाहीमा छिटो, छरितो र प्रभावकारी उपायको निरन्तर खोजी हुनुपर्छ। प्रशासनिक प्रणालीले राजनीतिक नेतृत्वसँग सहकार्य, स्पष्ट जिम्मेवारी बाँडफाँड, कर्मचारीहरूको क्षमता विकास, र सेवा गुणस्तर सुधारमा जोड दिनुपर्छ। साथै, जनताको सवालहरू समयमै सुनुवाई र समाधान गर्न सक्ने प्रणाली बनाउनु अत्यावश्यक छ। सशक्त प्रशासनले मात्र देशका तत्कालका समस्या समाधान गर्न र दीर्घकालीन समृद्धि सुनिश्चित गर्न सक्छ। नियमनकारी भूमिका गर्ने प्रशासनले आफ्नो चुस्ततासँगै निजी र सामुदायिक सेवा प्रवाहको प्रतिमान स्तरीय बनाउन वृहत्तर गृहकार्य गर्नुपर्छ। प्रशासनको मुटुमा पारदर्शीता र नागरिकमैत्री व्यवहार हुनैपर्छ। जसले भ्रष्टाचार, अकर्मण्यता र अन्यायलाई नियन्त्रण गरी सामाजिक विकासको गति बढाउँछ।
व्यक्तिगत सम्बन्ध र चेतना
उपनिषद जस्ता पूर्वीय दर्शनशास्त्रमा “अहं ब्रह्मास्मि” भनी व्यक्तित्व र ब्रह्म (सर्वोच्च सत्य) मध्ये कुनै छुट्टै छैन भन्ने तथ्यलाई जनाइएको छ। यसले म र समाजलाई अलग छुट्टै नभई एकाकार भएको चेतना दिन्छ, जहाँ व्यक्तिगत अस्तित्व सामूहिक अस्तित्व्सँगै जोडिएको हुन्छ। यस अर्थमा, आत्म-साक्षात्कारलाई मात्र होइन, सामाजिक सद्भाव र एकतालाई उत्तिकै महत्व दिइएको छ।
इमानुएल कान्ट जस्ता पश्चिमी दर्शनशास्त्री ले मानवलाई एक साधनको रूपमा होइन, स्वभावतया एक लक्ष्यका रूपमा हेर्नुपर्छ भन्छ। यसको अर्थ मानिसलाई सम्मान, गरिमा र स्वतन्त्र इच्छाशक्ति भएको आत्मनिर्णय गर्ने प्राणीका रूपमा हेर्नुपर्छ। कान्टको विचारमा नैतिक व्यवहारले व्यक्तिको स्वतन्त्र इच्छा र कर्तव्यलाई महत्व दिन्छ। यसप्रकार भन्न सकिन्छ- सोचाइ, व्यवहार र चेतनामा सुधार व्यक्तिगत मात्र होइन, सामाजिक रूपान्तरणको पनि आधार हो। सहिष्णुता, समझदारी र साझा अपेक्षाहरू विकास गर्न यो प्राथमिक हुन्छ।
निचोड
भगवद्गीतामा भनिएको छः
उद्धरेदात्मनाऽऽत्मानं नात्मानमवसादयेत्।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः॥
यसको अर्थ हुन्छ- आफैले आफूलाई माथि उठाऊ, आफैले आफूलाई तल नझार। किनभने आफ्नो आत्मा नै आफ्नो मित्र हो, र आफ्नो आत्मा नै आफ्नो शत्रु पनि हो।)
आज नेपालको घाउलाई मलम लगाउने जिम्मा सबैको हो- नागरिक, राजनीतिक दल, प्रशासन, समुदाय, व्यवसाय, र मिडिया सबैको। घाउलाई नियति मानेर केवल सहनु होइन, मलम लगाएर निको पार्नु र भविष्यमा घाउ नै नलाग्ने आधार खडा गर्नुनै हाम्रो जिम्मेवारी हो। यही बाटोले मात्र कार्य सुचारु गर्ने साहस दिन्छ, यही बाटोले मात्र राष्ट्रलाई पुनःउत्थान गराउँछ। सुनौलो भविष्यको पुननिर्माण हुन्छ।


